रेशम चौधरीलाई थुनामा पठाउने पत्र लेख्ने सर्वोच्चका कर्मचारी दोषी ठहर


काठमाडौँ । रेशम चौधरीलाई आफूखुसी पक्राउको पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टलाई अदालतले दोषी ठहर गरेको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश न्यायाधीश खिमानन्द भुसालको इजलासले विष्टलाई दोषी ठहर गरेको हो ।

विष्टले २०८१ वैशाख १७ गते आफैँ पत्र बनाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई पक्राउ गर्नु भनी प्रहरी कार्यालयमा पठाएका थिए । अदालतमा विचाराधीन मुद्दा टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैरकानूनी भएको निक्र्यौल हुनासाथ केही घण्टामै चौधरी रिहा भएका थिए । र, पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ परेका थिए ।

कारागार र प्रहरीमा तत्काल अर्को पत्र पठाएर सर्वोच्चले रेशम चौधरीलाई रिहा गरेको थियो । टीकापुर घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर सरकारले दिएको आममाफीका आधारमा उनी कारागारबाट रिहा भएका थिए । विष्टविरुद्ध लिखत सम्वन्धी कसुरमा मुद्दा दायर भएको थियो । उनलाई सजाय भने अर्को सुनुवाइ पछि निर्धारण हुनेछ ।