हराइरहेका अमेरिकी पाइलट मार्नेलाई पुरस्कार दिने इरानको घोषणा


वासिङ्टन । इरान र खाडी क्षेत्रमा दुई अमेरिकी युद्धक विमान खसालिएपछि द्वन्द्व थप चर्किएको छ। इरानी र अमेरिकी अधिकारीहरूका अनुसार घटनामा दुई पाइलटको उद्धार गरिएको छ भने एक जना अझै हराइरहेका छन् ।

घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा सचिवले आकाशमा पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि वास्तविक जोखिम अझै कायम रहेको संकेत दिएको छ । अधिकारीहरूका अनुसार पहिलो एफ १५ जेट इरानी फायरबाट खसालिएको हो। दोस्रो ए १० वार्थोग लडाकु विमान इरानी प्रहारपछि कुवेतमाथि दुर्घटनाग्रस्त भएको र पाइलटले ज्यान जोगाएको बताइएको छ ।

हराइरहेका पाइलटको खोजीमा खटिएका दुई ब्ल्याकहक हेलिकप्टर पनि इरानी फायरमा परे पनि सुरक्षित बाहिरिएका छन्। हराइरहेका एफ १५ का एक सदस्यको अवस्था सार्वजनिक गरिएको छैन ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले दक्षिणपश्चिम इरानमा खोजी तीव्र बनाएको जनाएको छ । स्थानीय अधिकारीहरूले शत्रु पक्षका सदस्यलाई पक्राउ वा मार्नेलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
ह्वाइट हाउसमा रहेका ट्रम्पले खोज तथा उद्धार अभियानबारे निरन्तर जानकारी लिइरहेका छन्। पेन्टागन र अमेरिकी सेन्ट्रल कमान्डले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

इरानभित्र एक अमेरिकी सैनिक जीवितै लुकेर बसेको सम्भावनाले वासिङ्टनका लागि थप दबाब सिर्जना गरेको छ। युद्धप्रति सार्वजनिक समर्थन कमजोर रहँदा द्वन्द्व छिट्टै अन्त्य हुने संकेत देखिएको छैन।

वाल स्ट्रिट जर्नलका अनुसार इरानले पाकिस्तानमार्फत भइरहेको युद्धविराम प्रयास असफल भएको जनाएको छ र अमेरिकासँग तत्काल वार्तामा बस्ने सम्भावना नदेखिएको बताइएको छ ।