भाडा नबढाए देशभर यातायात ठप्प गर्ने महासंघको चेतावनी


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै भाडा नबढाए सेवा बन्द गर्ने चेतावनी दिएको हो । नेपाल आयल निगमले दुई सातामै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न व्यवसायीले माग गरेका छन् ।

महासंघले अब पनि सरकारले भाडा नबढाए देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ’यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखेको छ । २०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।’