वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । विशेषगरी दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा देखिएको असन्तुष्टिका कारण यो निर्णय लिइएको बताइएको छ।
स्रोतहरूका अनुसार ट्रम्प बोन्डीको कार्यसम्पादनप्रति लामो समयदेखि असन्तुष्ट थिए। उनले आफ्ना आलोचक र विपक्षीविरुद्ध अपेक्षित रूपमा छिटो कानुनी कारबाही अघि नबढाएको पनि ट्रम्पको गुनासो थियो।
उप–महान्यायाधिवक्ता टोड ब्लान्चले अस्थायी रूपमा न्याय विभागको नेतृत्व सम्हाल्ने ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
ट्रम्पले बोन्डीलाई ‘देशभक्त र निष्ठावान् साथी’ भन्दै प्रशंसा गरेका छन् भने उनले अपराध नियन्त्रणमा महत्वपूर्ण काम गरेको उल्लेख गरेका छन्। बोन्डीले चाँडै निजी क्षेत्रमा प्रवेश गर्ने जनाइएको छ।
बोन्डीले आफ्नो कार्यकाललाई ‘जीवनकै ठूलो सम्मान’ बताउँदै आगामी एक महिनामा जिम्मेवारी हस्तान्तरण गर्ने बताएकी छन्।
उनको कार्यकालमा न्याय विभागको स्वतन्त्रता कमजोर बनाइएको आरोप लाग्दै आएको थियो। विशेषगरी एपस्टिन प्रकरणमा फाइल व्यवस्थापन र सार्वजनिक प्रक्रियामा त्रुटि भएको भन्दै व्यापक आलोचना भएको थियो।
एपस्टिन फाइल सार्वजनिक भएपछि ट्रम्पको विगतको सम्बन्धबारे पनि पुनः प्रश्न उठेका थिए। यद्यपि ट्रम्पले उक्त सम्बन्ध दशकौँअघि अन्त्य भएको दाबी गर्दै आएका छन्।
बोन्डीको बर्खास्तीपछि न्याय विभागको रणनीतिमा परिवर्तन आउने र ट्रम्पका लक्षित व्यक्तिहरूविरुद्ध कानुनी कारबाही थप तीव्र हुन सक्ने विश्लेषण गरिएको छ। यसअघि ट्रम्पले गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमलाई पनि पदबाट हटाएका थिए।

प्रतिक्रिया