दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्छौं, कसैमाथि प्रतिशोध राख्दैनौँं : सभापति लामिछाने


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार सिंहदरबार चलाउन नभई बदल्न आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सिंहदरबार प्रभावकारी ढंगले चलाउने बताएका हुन् ।

उनले भने, ‘आक्रोश र आशाको मत छ । परिवर्तनको मत हो । विपक्षी दलका घोषणापत्रको पनि स्वामित्व लिन्छौं । हामी सिंहदबार चलाउन होइन, बदल्न आएका हौँ ।’ उनले दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्ने बताए । उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए । उनले भने, ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं ।’

उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए । उनले यसअघिका सरकारको जस्तो कानुन नै फेरेर, अध्यादेश नै ल्याएर कसैमाथि प्रतिशोध नगरिने बताए ।

उनले भने, ‘तपाईंहरूलाई भन्छु म, हाम्रो सरकारबाट कसैमाथि प्रतिशोध हुने छैन। सरकारमाथि प्रश्न उठाउँदैमा अबदेखि कसैको माइक काटिने छैन । यो सरकारले विदेशी चलखेल भयो भनेर सुख पाउँदैन । सरकारको कामको गति कर्मचारीले थाहा पाइसकेका छन् । अब दायाँबायाँ गर्ने छुट कसैलाई छैन ।’

उनले यो सरकारले देशका नीतिहरू कसैको दबाबमा नबनाउने पनि प्रतिबद्धता जनाए । उनले अब माफिया र विचौलियाको दिन सकिएको बताए । उनले भने, ‘अब विचौलिया र माफियागिरी रहने छैन । विचौलियाहरूमाथि कारबाही सुरू भइसकेको छ । यो सरकारले विचौलिया र श्रममाफियालाई कारबाही गर्नेछ । हामी यस मामिलामा कसैसँग सम्झौता गर्दैनौँ ।’

उनले प्रतिपक्षीको आवाज कमजोर नबनाउने बताए । उनले भने, ‘हामीले अस्ति भर्खरै देखेका छौँ । प्रतिपक्षी कमजोर बनाउँदा कस्तो हुन्छ भन्ने । हामी त्यसो गर्न दिने छैनौँ ।’

उनले प्रतिपक्षीलाई समेत साथमा लिएर अघि जाने बताएका छन् । प्रतिपक्षीलाई उचित ठाउँ हुने भन्दै सत्तापक्ष र प्रतिपक्षी एकअर्काका पूरक भएको बताए ।