म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रूपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृश्यावलोकन स्थलको रूपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् ।
पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मिजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिए। “हिमशृङखला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,” उनले भने, “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवरद्धनको काम थालिएको दर्मिजा भ्यू पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ ।”
दर्मिीजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ बाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङखलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित दर्मीजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ वरपर घना जंगल छ । वसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयबासी शिव पाइजाले अनुभव सुनाए। म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामीण वस्तिहरू अवलोकन गर्न पाइने यो ठाउँ बस्ती देखि टाढा र एकान्तमा अवस्थित छ ।
सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदूषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ उपयुक्त गन्तव्य बन्न सक्छ । यहाँ स्थानीयबासीहरुले वैशाख महिनामा नांगेदेवीको पूजा गर्दछन् । नांगेदेवीको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ ।
नांगेथान नजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गरेका छन् । सोही स्थानका हिराबहादुर पुनका सहयोगमा खानेपानी व्यवस्था गरिएको छ । हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ ।
रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ ।
जागा झरना हुँदै दर्मिजा भ्यू पोइन्ट जान सकिन्छ । पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । दर्मिजा गाउँमा घर वासको सुविधा छ । दर्मिजाको फेदिमा प्राकृतिक तातोपानीको कुण्ड रहेको छ ।

प्रतिक्रिया