एमालेद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै आन्दोलन घोषणा गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिँदै थप कार्यक्रम घोषणा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको छ ।

एमालेले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइएको छ ।