वक्यौता उठाउन पालुङ वितरण केन्द्रले थाल्यो लाइन काट्ने अभियान


हेटौँडा । विद्युत महशुलको वक्यौता रकम बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महशुल असुली गर्न लाइन काट्ने अभियान शुरु गरेको छ ।

६० दिन भन्दा बढी समयको महशुल नतिर्ने ग्राहक तथा उपभोक्ताको लाईन काट्ने व्यवस्था अनुसार वक्यौता महशुल बुझाउन विभिन्न माध्यमबाट सूचना गरि जानकारी गराइएको र सूचनालाई अटेर गरि महशुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।

अभियानअन्तर्गत यस आर्थिक वर्षमा पालुङ प्राधिकरणले १ सय ६८ जना ग्राहकको लाइन काटी ८० लाख वक्यौता अशुल गरिसकेको छ । १६ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रको २ करोड ६० लाख वकयौता रहेको छ ।

वक्यौता रकम अशुलीको लागि टोली परिचालन भइरहेको र निरन्तर अभियान संचालन गरि ६० दिन भन्दा बढी समयको वक्यौता रहेका ग्राहकको लाईन काटी अशुल गरिने पनि पालुङ वितरण केन्द्रले जनाएको छ ।