काठमाडौं । गायक शिव परियारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत परियारले आयोगको प्रतिवेदनमा आफूलाई ‘भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका हुन् । उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा फैलिएको हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले बताएका छन् ।
‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?’ भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन् ।
यस्तो छ परियारको भनाई
म शिव परियार, एक जिम्मेवार नागरिक तथा कलाकारको हैसियतले, गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा मेरो नाम उल्लेख गरिएको सम्बन्धमा उक्त आरोप वास्तविकतामा आधारित नरहेको भन्दै सम्माननीय नेपाल सरकार र समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित स्पष्टीकरण प्रस्तुत गर्दछु ।
वि.सं. २०८२ साल भाद्र २३ गते भएको जेनजी आन्दोलनका क्रममा उत्पन्न भएका घटनाक्रमले देश अत्यन्त जटिल र संवेदनशील परिस्थितितर्फ उन्मुख भएको हामी सबैले तत्कालिन समयमा अनुभव गरेका थियौं। उक्त अवस्थाले एकातिर हामीलाई भावनात्मक रूपमा मर्माहत बनाएको थियो भने अर्कोतर्फ आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना सहज रूपमा प्राप्त गर्ने अवस्था पनि अत्यन्त अन्योलपूर्ण बनेको थियो।
यसै सन्दर्भमा, भाद्र २४ गते सामाजिक सञ्जालमा ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने पोस्ट मैले पटक–पटक देखेपछि, उक्त विषयको सत्यता बुझ्ने उद्देश्यले एउटा जिज्ञासामूलक पोस्ट लेखेको थिएँ। मेरो पोस्ट अक्षरशः यस्तो थियोः
‘हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?’
उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभई, नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै, केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न मात्र थियो।
उक्त पोस्टपश्चात् मेरा प्रिय शुभचिन्तक दर्शक, श्रोता, फेसबुक मित्र र फेसबुक फलोअरहरूबाट प्राप्त अनगिन्ती प्रतिक्रियाहरूबाट उक्त खबर भ्रामक र गलत रहेको स्पष्ट भयो। तत्पश्चात् मैले उक्त पोस्टको आवश्यकता नरहेको महसुस गरी पोस्ट हटाएको थिएँ। यसले मेरो उद्देश्य सम्बन्धित विषयमा सत्य तथ्य सूचना प्राप्त गर्नु मात्र रहेको कुरा स्पष्ट गर्दछ।
तर, भाद्र २६ गतेदेखि एक हप्तासम्म केही सामाजिक सञ्जाल फेसबुक पेज, फेसबुक ग्रुप तथा केही अनलाइन सञ्चारमाध्यमहरूले मेरो पोस्टको वास्तविक सत्य तथ्य नबुझी, मैले लेखेको उक्त पोस्टको वास्तविकतालाई बङ्याएर, म माथि अत्यन्त पूर्वाग्रही र प्रतिशोधात्मक भावना राखेर, गम्भीर आरोपसहितका हेडलाइनमा ‘सामाजिक सञ्जालमा भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरी मेरोबारे भ्रामक समाचार प्रकाशित गरे।
हाल सोही समयमा प्रकाशित समाचार सामग्रीहरू र ती समाचारकै आधारमा उठेका आरोपहरूलाई आधार मानी गौरीबहादुर कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदनमा मलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’का रूपमा उल्लेख गरिएकोमा म अत्यन्त दुःखका साथ गम्भीर आपत्ति प्रकट गर्दछु ।
यस प्रकारको आरोपले मेरो संवैधानिक नागरिक अधिकार, व्यक्तिगत प्रतिष्ठा तथा कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर नकारात्मक असर पारेको छ, जसबाट म गहिरो रूपमा मर्माहत भएको छु।
अतः, हालको नेपाल सरकार तथा यसका सम्बन्धित निकायसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु कि भ्रामक समाचार सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार गरी म माथि पर्न गएको अन्यायका विषयमा पुनर्मूल्याङ्कन गरियोस्। मलाई विश्वास छ, हामी सबैको आशाको केन्द्र बनेको राज्यले मेरो माथि अन्याय हुन दिने छैन। आवश्यक ठानेमा म सम्पूर्ण रूपमा सहयोग गर्न सदैव तत्पर रहनेछु। साथै, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले तत्कालीन अवस्थामा मेरो स्ट्याटसको स्क्रिनसट राखेको तस्बिर पनि यसैसाथ पोस्ट गरेको छु।
अन्त्यमा, आफ्ना आदरणीय दर्शक तथा श्रोताहरूप्रति म सधैं एक सचेत नागरिक तथा कलाकारको रूपमा जिम्मेवार, प्रतिबद्ध र सकारात्मक साङ्गीतिक योगदान दिन प्रतिबद्ध रहेको जानकारी गराउँदछु। साथै सम्पूर्णलाई भ्रामक सूचनाप्रति सजग रहन हार्दिक अनुरोध गर्दछु।
— गायक कलाकार
शिव परियार, काठमाडौं, नेपाल

प्रतिक्रिया