रोयटर्स । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमण सुरु गरेसँगै इरान–युद्ध थप विस्तार भएको छ। यसैबीच अमेरिका पनि थप सैन्य शक्ति सहित मध्यपूर्वमा सक्रिय रूपमा संलग्न भएको छ।
अमेरिकाले हजारौँ मरीन सैनिक क्षेत्रतर्फ पठाएको छ। अमेरिकी सेनाका अनुसार दुई टोलीमध्ये पहिलो टोली शुक्रबार आक्रमण जहाजमार्फत मध्यपूर्व पुगेको हो।
वाशिङ्टन पोस्टका अनुसार पेन्टागनले इरानमा दीर्घकालीन स्थलगत सैन्य कारबाहीको तयारी गरिरहेको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो योजना स्वीकृत गर्ने वा नगर्ने विषय अझै अनिश्चित रहेको जनाइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता युद्ध मध्यपूर्वभर फैलिएको छ। यसले हजारौँको ज्यान लिएको छ भने विश्व ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्थलसेना बिना पनि लक्ष्य हासिल गर्न सकिने बताए पनि रणनीतिक लचिलोपनका लागि सैनिक तैनाथ गरिएको स्वीकार गरेका छन्। पेन्टागनले ८२औँ एयरबोर्न डिभिजनका सैनिक पठाउने तयारीसमेत गरेको छ।
यसैबीच इरानी राष्ट्रपति मसुद पेजेश्कियानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग वार्ता गरेका छन्। पाकिस्तानले आइतबार टर्की र साउदी अरबका विदेशमन्त्रीहरूको बैठक आयोजना गर्दै क्षेत्रीय तनाव घटाउने प्रयास गरिरहेको छ।
लेबनानमा इजरायली आक्रमणमा तीन पत्रकार र एक सैनिकको मृत्यु भएको छ। उद्धारका लागि पुगेका टोलीमाथि पुनः आक्रमण हुँदा थप हताहती भएको जनाइएको छ। इजरायलले एक पत्रकार हिज्बुल्लाहसँग आबद्ध रहेको दाबी गरेको छ।
इरानले इजरायल र खाडी क्षेत्रका केही देशमाथि आक्रमण जारी राखेको छ। साउदी अरेबियास्थित हवाई अड्डामा भएको आक्रमणमा १२ अमेरिकी सैनिक घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।
इजरायलले यमनबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ। हुथीहरूले २४ घण्टाभित्र दोस्रो आक्रमणसमेत गरेको र आगामी दिनमा थप आक्रमण गर्ने चेतावनी दिएका छन्।
यसले हर्मुज जलडमरू मार्ग हुँदै हुने विश्व तेल आपूर्तिमा थप जोखिम उत्पन्न गरेको छ। इरानको धम्कीपछि अधिकांश तेल ट्यांकरहरू उक्त मार्ग प्रयोग गर्न हिच्किचाएका छन्।
नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा युद्धले राष्ट्रपति ट्रम्पमाथि राजनीतिक दबाब बढाएको छ। अमेरिकाभर युद्धविरोधी प्रदर्शनसमेत भएका छन्।
इजरायलले इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ। यसले आणविक सुरक्षामा खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। खाडी क्षेत्रका कुवेत, यूएई र ओमानमा पनि इरानी आक्रमणको रिपोर्ट आएको छ।

प्रतिक्रिया