काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका वरिष्ठ नेता बालेन साहलाई सफल कार्यकालको शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र साहलाई सफल कार्यकालको हार्दिक शुभकामना ! आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीति र बाह्य रूपमा तीव्र गतिले बदलिँदै गएको भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइशौं शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!’
भट्टराईले अब कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेसी समृद्धिकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गरौं ! कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं !’

प्रतिक्रिया