शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थिरता हुँदैनः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थिरता नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित समाजवादीको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मुलुकको बर्तमान शासन प्रणालीले दुई तिहाइको सरकार पनि स्थिर हुन नसकेको भन्दै शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई दिगो स्थिरतातर्फ लैजान पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको व्यवस्था हुनुपर्ने दोहर्याए । उनले मुलुकका देखिएका बिभिन्न व्यवस्थालाई परिमार्जन गर्दै समृद्धिको दिशातर्फ जानुको बिकल्प नरहेको बताए ।

जनताले विश्वास गरेका पुराना पार्टी कांग्रेस र कम्युनिष्ट पार्टिबाट निराशामात्र पैदा भएको उनको भनाई छ । उनले समृद्धि र विकास हासिल गरेमात्रै मुलुक बलियो हुने तर्क गरे । भट्टराईले जनताको विश्वास लिएर नै जनताको अधिकार स्थापीत गर्नका लागि संविधान संशोधन गर्न सकिने बताए । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो ।