काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले आशंका उत्पन्न गराएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत महामन्त्री पौडेलले जाने बेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट विमुख भएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ । अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’
उनले यथाशिघ्र प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् । उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।’
आयोगले निर्वाचनलगत्तै प्रतिवेदन बुझाएपनि सरकारले अझै सार्वजनिक गरेको छैन । विभिन्न जेनजी समूहलगायतले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । तर सरकारले उनीहरुको मागको वेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया