काठमाडौँ । विशेष महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको केन्द्रीय समिति बैठक चलिरहेका बेला कांग्रेसको शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा पक्षका नेताहरुको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् । बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको उनले बताए । खड्काले शीर्ष नेताहरुसँग छलफल गरी मिति तय गर्ने उनले बताए ।
गत पुसमा विशेष महाधिवेशनका निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको छ । त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ । यता निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय बेहारेपछि सभापति गगन थापाले पदबाट राजीनामा दिइसकेका छन् ।
तर जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुहले उनको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा धारणा राखिरहेका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

प्रतिक्रिया