पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएको रिर्पोटमा सांसद प्रदीप यादव , उनका चालक , पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेका छन् । संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेका उनले बताए ।

वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना र वडा नं. ८ का ११ जना रहेका बताईएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भई सकेको छ भने पर्सा जिल्लामा संक्रमितको सख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ संक्रमितको मृत्यु भईसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बास्नेतले जानकारी दिए ।

पछिल्ला दिनमा परीक्षणको दायरा बढाउँदै लगिएकाले संक्रमित बढ्दै गएका हुन् । अझै एक परिवार एक पीसीआर परिक्षण योजना अनुरुप संक्रलन गरिएका, संक्रमितको कन्ट्याक्ट टे«सिङ्गमा परेकाहरुबाट संकलन गरिएको करिब १४ सय स्बावको नमूना परीक्षण गर्न बाँकी नै रहेको छ ।

दैनिक मास टेस्टिङ्गका लागि महानगर क्षेत्रभित्र तीन देखि चार स्थानमा स्बाव संकलन केन्द्र खडा गरी स्बाव संकलन गर्ने कार्य भईरहेको छ ।