रवि लामिछानेको मुद्दा फिर्ताको रिट हेर्दाहेर्दैमा,अब चैत ५ मा सुनुवाइ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर भएको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता दिपेन्द्र झा, नारायणदत्त कँडेल लगायतले बहस गरे भने रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता टीकाबहादुर कुँवर, आभाष रेग्मी, आयुष बडाल, अधिवक्ता अनुपम भट्टराई लगायतले जवाफी बहस गरेका छन् ।

अर्को बहसमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफ दिनेछन् । अब अर्को सुनुवाइ चैत ५ गते हुने छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालको मुद्दा संशोधन निर्णयविरूद्ध सर्वोच्चमा भिन्नाभिन्नै तीनवटा रिट दर्ता भएका छन् ।

सर्वोच्च अदालतका रिट देखाउँदै सरकारी वकिलले दिएको संशोधन निवेदनमा कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालतले पनि निर्णय नगर्ने आदेश गरेका छन् ।