रास्वपाबाट नवनिर्वाचित सांसदलाई अभिमुखीकरण कार्यक्रम सुरु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

मंगलबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले घण्टी बजाएर रास्वपाका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तालिमको उद्घाटन गरेका छन् । अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा रास्वपाका पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञसँगै योगगुरुले प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह उपस्थित भएका छैनन् ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने बताइएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।