पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि गरेको छ । निगम संचालक समितिको आइतबार बसेको बैठकले मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।

अन्तर्राष्ट्रिय बजारको पछिल्लो लागत मूल्य अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको भए तापनि उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सहजतालाई ध्यानमा राखेर निगमले मूल्य स्थिरीकरण कोषको प्रयोग गरी न्यून दरमा मात्र मूल्य बढाउने रणनीति लिएको दाबी गरेको छ ।