गण्डकी । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।
तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए।
उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उनले घर-घरबाटै मह बिक्री हुने गरेको बताए । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उनको भनाइ छ ।
उनका अनुसार विशेषत: मौरीपालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छापपाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली/देउराली फेदी, रुपा ६ को भिरचोक/खोलाको छेउ र रुपा ७ को काउरे/हंशपुर/माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढीरहेको छ ।

प्रतिक्रिया