विगतमा कम्युनिष्ट दलसँगको गैरसैद्धान्तिक गठबन्धन कांग्रेसका लागि चुनावमा प्रत्युपादक


-महेश आचार्य
यस पटकको चुनावमा रास्वपाले अभुतपुर्व जनसमर्थन पायो । जनताको यो निर्णय सबैलाइ स्वीकार्य छ र हुनुपर्छ । यो व्यापक जनसमर्थनले रास्वपाका काँधमा गम्भीर जिम्मेवारी पनि सुम्पेको छ–आफ्नै वाचा र जनताको भरोसा टुट्न नदिने । देशलाई अहिले चाहिएको विधिको शासन र सहिष्णुताको संस्कृति नै हो । यसकासाथै आर्थिक क्षेत्रमा समृद्धि र व्यापक सुधारका लागि राष्ट्रिय शक्तिका बीच सहकार्य गर्ने तत्परता र राष्ट्रियता सुदृढ गर्ने साझा संकल्प पनि देश र जनताले खोजेका छन् । राजनीतिमा यस्तो दुरदृष्टि, कार्यशैली र संरचनागत परिवर्तन प्रारम्भ गर्न रास्वपालाई सफलता मिलोस् ! मेरो शुभकामना छ।

कांग्रेसले यस चुनावमा सत्ता मोहका पुराना गल्ती–कम्युनिष्ट दलसँगको गैरसैद्धान्तिक गठबन्धन र जनताको भावनालाई निरन्तर उपेक्षा गर्ने नेतृत्वको अहंकारी कार्यशैलीका कारण आफ्नो ठूलो जनाधार गुमाएको छ । नजिक र सँगै हुर्किएका बाँसहरु तीव्र हावा चलेका बेला अरणी मन्थन गर्दाझैं आफ्नै घर्षणले निष्केको आगोले नष्ट हुने दुर्भाग्यले पनि कांग्रेसलाई अझै छाडेको छैन । कांग्रेस भित्र चुनावको ठिक अघि मात्र प्रारम्भ भएको नीति, नेतृत्व र संकल्पको परिवर्तनको आभास र प्रभाव पनि जनतासम्म यथेष्ट मात्रामा पुग्न सकेन । तर कांग्रेसभित्र सुधारको यो अधुरो र आंशिक प्रभावले शायद यसलाई अन्य कम्युनिष्ट दलको हविगत भन्दा थोरै अलग राख्यो ।

यो चुनाव परिणामले कांग्रेसको एउटा पंक्ति निराश हुन सक्छ तर मलाई विश्वास छ निरन्तर संघर्ष र बलिदानको अग्निपरीक्षाबाट खारिएको कांग्रेसका साथीहरुको विशाल पंक्ति यो प्रतिकुल परिणामले समेत विचलित हुने छैन । कांग्रेस भित्र सुधारको प्रकियाले थप गति लिनुपर्छ, आत्मसमीक्षा गर्दै जनतासँग टुटेको सम्बन्ध थप जोड्दै जानुपर्छ । आगामी दिनहरुमा निष्ठा, विनम्रता र कार्यदक्षता युवा नेतृत्वको गहना बनोस् र संगठनलाई गुटबन्दीको धमिराबाट मुक्त गर्ने र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमले उर्जा देओस् । असंख्य शुभकामना ।