-डा. बाबुराम भट्टराई ।
२०८२ को आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण पानीढलो बन्ने अब सुनिश्चित भएको छ। त्यसो त २०१५ साल र २०६४ सालको आमनिर्वाचनहरू पनि आआफ्नो युगका पानीढलोहरु नै थिए। परन्तु यो निर्वाचनले परम्परागत कांग्रेस–कम्युनिष्ट धारका पार्टीहरूलाई नै विस्थापित गरेर विल्कुलै नयाँ डिजिटल युगका युवाहरूको बर्चस्व रहेको नयाँ ढंगको पार्टी र नयाँ पुस्तालाई राजनीतिको केन्द्रमा जसरी स्थापित गरेको छ त्यसको दूरगामी महत्व रहने निश्चित छ।
नेपालमा २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै र विश्वमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (AI) सहितको चौथो औद्योगिक क्रान्तिसंगै पुराना वैचारिक युगका पार्टीहरूको विकल्पमा नयाँ युगको नयाँ विचार,नीति,कार्यक्रम,संगठन,नेतृत्व सहितको नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने पैरवी हामी कतिपयले गर्दै आइरहेका थियौं।
परन्तु इतिहासका कतिपय महत्वपूर्ण घटना कसैको चाहनाले भन्दा पनि वस्तुगत आवश्यकता र आकस्मिकताको संयोजन स्वरूप घट्छन् भने झैं अहिले यो जेन–जी विद्रोह र आमनिर्वाचनको रूपमा नेपालमा घट्न गएको छ। कतिपय कन्स्पिरेसी थ्योरिष्ट (षड्यन्त्रवादी)–हरुले अन्यथा भनेपनि केही दशक यता नेपाली समाजको पुरानो अर्थ–राजनीतिक संरचना जसरी भत्किरहेको थियो र विशेषतः वैदेशिक रोजगारी र डिजिटल प्रविधिले नयाँ युवाहरूमा नयाँ चेतना जागृत गराइरहेको थियो त्यसले यी रूपान्तरणकारी परिघटनाहरू अनिवार्य बनाइरहेका थिए।
अतः अब कसैले चाहे पनि नचाहे पनि नेपाली राजनीति पुरानो ठाउँमा रहन सक्दैसक्दैन। जेन–जी विद्रोह र यो निर्वाचनले त्यसको स्पष्ट संकेत गरेको छ। अहिलेको चुनाव एउटा नियमित चुनाव मात्र नभएर आम जनताको शान्त विद्रोहमा परिणत भएको तीतो सत्यलाई सबैले स्वीकार्नैपर्छ। सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आफुलाई रूपान्तरण गर्न खोजे पनि त्यो निकै ढिलो र अपूर्ण रहेछ भन्ने घटनाक्रमले पुष्टि गरिरहेछ। सबभन्दा बढी जनाधार र बलियो संगठन भएको भनिएका कम्युनिष्ट पार्टीहरू भित्रभित्रै कति मक्किइसकेका रहेछन् भन्ने जनसमक्ष छर्लंग भएको छ।
यो स्थितिमा नेपाली राजनीतिको समग्र अग्रगामी पुनर्संरचनानिम्ति यो महत्वपूर्ण घुम्ती बन्नसक्छ। त्यसकोनिम्ति यति ठूलो जनविश्वास प्राप्त गरेको रास्वपा र त्यसको मूल नेतृत्व रवि–बालेन्द्रको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ। यो विशिष्ट घडीमा अन्य सबै दल र नेताहरूले पनि समुचित पाठ सिकेर आआफ्नो ठाउँबाट सहयोगी हात बढाउनु उपयुक्त हुनेछ । बधाइ तथा शुभकामना रवि–बालेन्द्र टिमलाई!

प्रतिक्रिया