काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।
उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् । उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वपाले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए ।
उनले भनेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ ! ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ’ब्यालेट‘बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल ।’
रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो ।
यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ । ०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।

प्रतिक्रिया