काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा उनले पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे । उनले प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पारे ।
संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्छ भनेर नेकपाले लड्दै आएको बताए । ‘संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध गरिएको छ । त्यो अझै पर्याप्त छैन, हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ’, दाहालले भने, ‘मेरो नेतृत्वको सरकारले उक्त प्राधिकरण बनाउने निर्णय गरेको थियो, कार्यान्वयनका लागि बजेट पनि विनियोजन गरेको थिएँ, पछि बनेको सरकारले त्यसलाई अघि बढाएन ।’
नेकपाको गठनपछि क्रान्तिकारी र वामपन्थी शक्तिको ध्रुवीकरण सुरु भइसकेको जनाउँदै उनले अब छिट्टै सम्पूर्ण वामपन्थी एकठाउँमै हुने दाबी गरे ।

प्रतिक्रिया