वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व औपचारिकरुपमा सुरु


काठमाडौं । काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीचंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै आजबाट रङ्गहरुको पर्व होलीको उत्सव औपचारिक रुपमा सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।

साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।