गगन थापाले खासमा बोलेर होइन, एक्सनले नै जवाफ दिइसकेका छन्


नारायण गाउँले ।
हामीसँग चुनावको मुखमै आफूमाथिका आरोप र काण्डबारे सोझो प्रश्न फेस गर्नसक्ने थोरै मात्र नेता छन् । अझ ग्रिलिङ शोमा रोस्टकै शैलीमा आएका प्रश्नमाथि पनि आक्रोश नदेखाई जवाफ दिन सक्ने नेता कति होलान् ? मलाई गगन थापा यसकारण पनि मन पर्छन् । देउवाको घरमा जलेको नोटबारे उनको जवाफ यस्तो थियोः
‘दूधको दूध, पानीको पानी हुनुपर्छ । आयोगले छानबिन गर्दै छ । त्यसको सिफारिस कार्यान्वयन हुन्छ । यदि आयोगले छुटायो भने पनि यो यत्तिकै सकिन्न । म सत्तामा आए पुनः छानबिन र कारवाही हुन्छ !’

चुनावको मुखमा यत्तिको स्पष्ट र क्लियर उत्तर कमले मात्रै दिन सक्छन् । आयोग उनले बनाएको होइन । नयाँ सरकारले बनाएको हो । उसले भरेभोलि रिपोर्ट दिने नै छ । त्यो पैसा कति थियो, कहाँबाट आएको थियो, स्रोत के थियो लगायतका प्रश्नको उत्तर खोजेर दोषी देखिए आयोगले पक्कै छोड्ने छैन । छोड्यो भने पनि फेरि छानबिन हुन्छ भनेर उनले स्पष्ट बोलेका छन् ।
गगन थापाले खासमा बोलेर होइन, एक्सनले नै जवाफ दिइसकेका छन् । यथास्थितिमा देउबाकै हातबाट टिकट लिएर चुनाव नलड्ने उनले घोषणै गरेका थिए । सम्पूर्ण राजनैतिक करियरलाई दाउमा लगाएर उनले पार्टीमा विद्रोह गरेका हुन् । निर्वाचन आयोगले मान्यता नदिएको भए विश्वप्रकाश लगायत सिङ्गो युवापुस्ताको राजनीति सकिन्थ्यो । राजनीतिमा झुन्डिइरहने लोभलाई नजिती त्यत्रो रिस्क लिन सकिन्न । विश्वप्रकाशले त टिकट समेत छोडेर पार्टीको पुनर्जीवनका लागि लडेका हुन् ।

सभापति हुनासाथ उनले छानबिनको दायरामा भएका आफ्नै पूर्वसभापतिलाई टिकट दिएनन् । यो पार्टीको अप्रत्यक्ष कारबाही हो । कारबाही त राज्यका निकायले अनुसन्धानपछि गर्ने हो । छानबिन हुँदै गरेकाले गृहमन्त्री रमेश लेखकले पनि टिकट पाएनन् । गगनले विद्रोह नगरेको भए देउवा राजनीतिको केन्द्रमै हुने थिए, टिकट बाँड्ने थिए र शायद ओलीसँग गठबन्धन गर्ने थिए । यसरी चुनावमा रिस्क मोलेरै देउबा, आरजू र रमेश लेखकलगायतलाई टिकट नदिनु सामान्य कुरा होइन ।

‘एआई हो कि होइन भन्ने फैसला मैले सुनाउने होइन, छानबिन आयोगले हो ।’ अहिले ट्रोल गरिएको टिप्पणी यही हो । रवि लामिछानेलाई चाहिँ न्यायाधीश बनेर फैसला गर्ने तर एआईबारे नबोल्ने ? आरोप यही हो । छानबिन र फैसला एउटै होइन । रविको केसमा गगनले फैसला सुनाएका होइनन् । उनले सबैतिर समाचार आएपछि छानबिन हुनुपर्ने माग गरेका हुन् । केही प्रमाण नै नभएको र छानबिन हुन नसक्ने अड्डी कसेपछि उनले छानबिनका लागि पर्याप्त प्रमाण रहेको दाबी गरेका हुन् । समिति बनेको दिनदेखि उनी यस मुद्दामा लगभग चुप छन् । न्यायिक प्रक्रियामा पसेपछि उनले फैसला सुनाउँदै हिँडेका छैनन् ।

यसलाई उनले चुनावी मुद्दा पनि बनाएका छैनन् । उनको माग छानबिनको थियो । भयो । सकियो । प्रमाण खोइ भनेर एकदम खेदो खनिदा र रास्वपाकै नेताले ट्रोल गर्दा पनि सामान्य जबाफबाहेक कतै अभद्र टिप्पणी गरेको सुनिन्न । न जेलबाट निस्किएको कुरोलाई मुद्दा बनाएका छन् न अदालतले प्रमाण मानेका विषयलाई उचालेका छन् । गगन थापा मुद्दा हाल्न गएका होइनन् । रवि लामिछानेले पनि व्यक्तिगत रूपले कतै अप्रिय बोलेको सुनिएको छैन । छानबिन हुनुपर्छ भन्नु आफैँमा फैसला होइन र अपराध पनि होइन । आज २०४६ पछिका सबैलाई छानबिन गर्ने कुरो त अरूको पनि छ ! प्रश्न उठेपछि छानबिन हुनुपर्ने त नयाँहरूको पनि माग हो । देउवाको पैसाबारे छानबिन हुँदैछ । नागरिक सरकारले बनाएको र निष्पक्ष भनिएको आयोगले दिने निर्णय मान्य हुन्छ भन्नु कानुनी राज्यको पूर्ण सम्मान हो । यतिबेला कांग्रेस आफैमा विभक्त छ । कमजोर छ । माहोल पनि छैन । यस्तोमा गगन थापालाई उत्तेजित बनाएर केही अप्रिय टिप्पणी गराउन सकिए देउवा गुट क्रुद्ध हुने र अन्तरघात बढ्न सक्ने आशा केहीलाई होला । तर उनले सभापतिबाट हटाउने मात्रै होइन, टिकट नै रोकेर यो प्रश्नको उत्तर दिइसकेका छन् । चुनाबलाई पर्न सक्ने असर र लाभहानी नहेरी यस्तो कठोर निर्णय लिइएको बुझ्न अप्ठेरो छैन ।

यो चुनावसँग गोली चलेको, युवाहरू ढलेको र सिंहदरबार जलेकोसम्मका दुर्घटना जोडि़एका छन् र कतिले चुनावी मुद्दा नै बनाएका छन् । परस्पर आरोप–प्रत्यारोप सुन्नुभएकै होला । तर गगनले यसलाई चुनावी मुद्दा बनाएका छैनन् । कसैलाई ढलाएको या जलाएको आरोप लगाएका छैनन् । निगेटिभ क्याम्पेन चलाएका छैनन् । बरु जिम्मेबार बन्दै माफी मागेका छन् । सबै मिलेर जेनजीको भावनालाई सम्मान गर्नुपर्ने बताएका छन् । पैसादेखि सिंहदरबार जलेकोसम्म आयोगले निर्णय गर्ने उनको मान्यता छ । अरूले जस्तै उनी फैसला सुनाउँदै हिँडेका छैनन् । यो परिपक्व र संयमित राजनीति हो । बालेनले पनि सोझै प्रतिष्पर्धा भए पनि कतै अभद्र टिप्पणी गरेको सुनिन्न ।

सुदन गुरुङले चुनाव हुँदैन भन्दा समेत चुनावको पक्षमा उभिने मान्छे हुन् गगन । जेनजीको भावनालाई सम्मान गर्दै संसद पुनःस्थापनाको विपक्षमा उनी नउभिएको भए अहिलेको राजनीति फरक पनि हुन सक्थ्यो । स्मरण रहोस्, उनी आफूमाथि कुनै प्रश्न, दाग या काण्ड लिएर चुनावमा आएका छैनन् । न कसैलाई गाली गरेर आएका छन् । उनले उत्तर दिइरहेको भूतपूर्व नेताको विषयमा हो, आफ्नो विषयमा होइन । पार्टीमा अझै सफा गर्नुपर्ने धेरै कुरा होलान्, तर उनले फोहोर गरेका होइनन् ।
सन्दूक रुइतदेखि रवि लामिछाने र स्वर्णिमदेखि भगवान् कोइरालासम्मले उनको प्रसंशा गरेको दाग नभएकै कारण हो । प्रश्न सोधेको र छानबिनको माग गरेको आधारमा मात्रै उनलाई भिलेन भन्न र मान्न सकिन्न । सडकमा हिँड्दा हिँड्दै होस् या रोस्ट गर्ने टेबलमा बोलाउँदा होस्, उनले हाम्रो प्रश्न सोध्ने हकको सम्मान गरेका छन् । जवाफदेहिता प्रस्तुत गरेका छन् । धेरैले जवाफ दिनु अनिवार्य दायित्व हो भन्ने पनि बुझ्न बाँकी छ ।

उनले बनाएको कांग्रेस–२ ट्रोलको विषय होइन, अन्य दलका लागि समेत प्रेरणाको विषय हो । विद्रोह हो ! हामी जलेको पैसाबारे कुरा गर्दै छौं, आयोग छानबिन गर्दै छ । भोलि रियल पैसा भन्ने साबित हुँदा पनि सोझै कारबाही गर्न मिल्दैन । त्यो पैसा घूस हो भन्ने साबित गर्न पर्छ । हस्ताक्षर र प्रमाण खोज्न पर्छ । समय लाग्छ । तर कांग्रेस–२ ले हिजै सभापतिबाट हटाएर राजनीतिबाटै बिदा गरिसक्यो । अबको बाटो कस्तो हुने भन्ने स्पष्ट सन्देश दिइसक्यो ।