काठमाडौँ । सशस्त्र प्रहरी बलले निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुलाई सोमबारदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट फागुन आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष निर्देशन दिएका छन् ।
उनले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएका छन् ।
उनले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरुसँग समन्वय, सबै उम्मेदवारहरुसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने काम बारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनको साथै निर्वाचन प्रहरीहरुलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरुको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिएका छन् ।
सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत निर्देशन दिएका छन् । निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरुलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले निर्देशन दिएका छन् ।
सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने बरिष्ठ अधिकृतहरुले फिल्ड र मुख्यालय बीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया