काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको बताएका छन् ।
आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले अहिलेको सरकारले पनि जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन् ।
उनले यो सरकार पनि लामो समय नटिक्ने ठोकुवा गर्दै जुन बाटो आएको थियो, त्यही बाटो जाने बताए । उनले भने, ‘अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ? दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ ।’
प्रसाईँले आफूलाई भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको भन्दै आपत्ति जनाए । उनले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुम्बासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’
उनले बालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसीवाद ल्याउनतिर लागेको आरोप लगाए । उनले अल्गोरिदम आफ्नो पक्षमा आउने र अभियानले सार्थकता पाउने बताए ।
उनले नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने वर्तमान व्यवस्थाले विदेशीको इसारामा दलाई लामाको जन्मजयन्ती मनाउन भने अनुमति दिएको भन्दै कडा आलोचना गरे ।
उनले सरकार र वर्तमान राजनीतिक प्रणालीले राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । उनले भने, ‘नेपाल राष्ट्र बनाउने राजा पृथ्वीनारायण शाहको फोटोमा थुक्ने र झण्डा जलाउनेहरूलाई कारबाही हुँदैन, तर राष्ट्रिय पहिचानको कुरा गर्नेलाई दबाउन खोजिन्छ । काठमाडौँमा दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिने यो सरकारले आफ्नै देशका सुकुम्बासी र गरिबलाई भने उठिबास लगाइरहेको छ।’
प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा तिब्बती र रोहिंग्या शरणार्थीहरूले आश्रय पाइरहेको तर नेपाली नागरिकहरू भने आफ्नै भूमिमा सुकुम्बासी भएर खोलाका किनारबाट लखेटिनु परेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया