विश्वव्यापी भन्सार दर १५ प्रतिशत पुर्याउने ट्रम्पको घोषणा


वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी भन्सार दर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। सर्वोच्च अदालतले यसअघि लागू गरिएको आयात कर खारेज गरेपछि ट्रम्पले नयाँ दर बढाउने निर्णय सार्वजनिक गरेका हुन्।

शुक्रबार ट्रम्पले अमेरिकामा आयात हुने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए। तर शनिबार ‘ट्रुथ सोसल’ मार्फत उनले हालसम्म प्रयोग नभएको एक व्यापार कानुनअन्तर्गत अधिकतम सीमा १५ प्रतिशतसम्म पुर्याइने जानकारी दिए।

सन् १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत ल्याइने उक्त अस्थायी व्यवस्थाअनुसार नयाँ भन्सार दर करिब पाँच महिनासम्म लागू रहन सक्छ। त्यसपछि यसलाई निरन्तरता दिन प्रशासनले कंग्रेसको स्वीकृति लिनुपर्ने हुन्छ।

यसअघि १० प्रतिशत भन्सार २४ फेब्रुअरीदेखि लागू गर्ने तयारी थियो। १५ प्रतिशत दर पनि सोही मितिबाट लागू हुने वा नहुनेबारे स्पष्ट भएको छैन। बीबीसीले यस विषयमा ह्वाइट हाउससँग प्रतिक्रिया मागेको जनाएको छ।

सर्वोच्च अदालतले ६–३ को बहुमतमा ट्रम्पले सन् १९७७ को ‘इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट’ प्रयोग गरी गतवर्ष व्यापकरुपमा विश्वव्यापी भन्सार लगाउँदा अधिकार क्षेत्र नाघेको ठहर गरेको थियो।
सरकारी तथ्यांकअनुसार अमेरिकाले आइइपिएअन्तर्गत हालसम्म कम्तीमा १३० अर्ब डलर राजस्व संकलन गरिसकेको छ ।

अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले उक्त फैसला ‘हास्यास्पद र अमेरिकी हितविरुद्ध’ भएको टिप्पणी गरेका छन्। उनले आफ्नो व्यापार नीतिको विरोध गर्ने न्यायाधीशहरूको आलोचना पनि गरेका छन्।