नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा धनगढीका संस्थापक नगर सभापतिले छाडे पार्टी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी छाडेका छन् ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका विष्टले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले भनेका छन्,‘म राष्ट्रिय स्वतन्त्र पार्टी धनगढीको संस्थापक नगर सभापति तथा २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली ५ बाट प्रत्यक्ष उम्मेदवार भई सुदूरपश्चिम प्रदेशकै दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार हुँ । ‘युवा राजनीतिमा’ र “जान्नेलाई छान्ने नातावाद आशीर्वाद आर्थिकवाद नभई प्राइमरीबाट छान्ने भन्ने मूल आदर्शबाट प्रेरित भई पार्टीमा आवद्ध भएको थिएँ । तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभूति गरेको छु । संगठनमा समर्पित साथीहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भएको अवस्थाले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको छ । यस परिस्थितिमा मौन रहन असमर्थ भई आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेश गर्दछु ।’

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।