कास्की। आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो। माओवादी जनयुद्ध, भूकम्प र नाकाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन। हाल २५औँ संस्करणसम्म आइपुगेको प्रतियोगिताको उपाधि भिडन्त शनिबार पोखरा रङ्गशालामा हुँदैछ।
उपाधिका लागि जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब पोखरा मैदानमा उत्रिदैछन्। विगतमा जस्तो यसपटकको फाइनलमा चिरपरिचित मनाङ मस्र्याङदी, पुलिस क्लबजस्ता धेरैपटक उपाधि जितेका टोली छैनन्।
जावलाखेल आहा राराको पहिलो उपाधि खोजीमा रहँदा घरेलु टोली सहारालाई १२ वर्षपछि उपाधि घरमै राख्ने मौका जुरेको छ। नेपाली उखान नै छ ‘१२ वर्षमा खोलो फर्किन्छ’। सहारा भोलि त्यही उपाधि जितेको खोलो फर्काउने लक्ष्यमा हुनेछ। सहाराले योसँगै चारपटक फाइनल खेल्दा २०७० सालमा मात्र उपाधि जितेको छ। विसं २०६९ मा थ्रीस्टार र विसं २०७२ मा मनाङसँग फाइनलमा सहारा पराजित भएको थियो।
जावलाखेल भने आहा रारामा दोस्रोपटक फाइनलमा पुगेको टोली हो। विसं २०६८ मा फाइनल पुगेको यो टोली उपाधि भिडन्तमा मनाङसँग पराजित भएको थियो। त्यसता अधिकांश संस्करणमा सहभागी हुँदै आएको जावलाखेलले फाइनल खेल्न पाएको छैन। उपाधि जितेर पोखरामा नयाँ इतिहास कामय गर्ने लक्ष्यमा जावलाखेल छ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाइज युनाइटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो।
सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई सडन डेथमै ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
जावलाखेलमा प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पोखराको मैदानमा उपाधि जितेर इतिहास बनाउने योजना सुनाए। “हामीले पोखरामा उपाधि जित्न सकेका छैनौँ, राम्रो फुटबल खेलेर भोलि त्यो उपाधि सपना साकार पार्नेछौँ”, श्रेष्ठले भने। आक्रामक फुटबल खेल्ने र सुरुआतमा गोल गर्ने जावलाखेलको रणनीति हुनेछ। सेमिफाइनलमा उज्वेकिस्तानको आभा एएफसीलाई पराजित गरेकाले जावलोलका खेलाडी उच्च मनोबलसहित फाइनल खेलमा मैदान उत्रिने कप्तान युनेश चौधरीले भने।
सहाराका प्रशिक्षक सुनिल रानाले घरेलु मैदान र दर्शकको साथ रहने भएकाले उपाधि उचालेर इतिहास दोहोर्याउने लक्ष्य सुनाए। उनले भने, “घरेलु समर्थकलाई खुसी दिनेछौँ। बाह्र वर्षपछि उपाधि घरमै राख्ने योजना छ, राम्रो फुटबल खेल्नेछौँ”, रानाले भने।
सहाराका कप्तान सुशील लामाले टोली उच्च मनोबल र फर्ममा रहेकाले उपाधि जित्ने दाबी गरे। “टिम उच्च मनोबल र लयमा छ। हामी फाइनल जित्नेछौँ”, लामाले भने। सहारा एकेडेमीका उत्पादनसमेत रहनुभएका लामालाई यसपटक कप्तानका रूपमा उपाधि चुम्नेमा आशावादी छन्।
गत माघ २७ गतेदेखि सुरु भएको २५औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ। त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउनेछन्।

प्रतिक्रिया