एमालेको चुनावी घोषणापत्रः पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने, युवालाई ‘डलर कार्ड’


काठमाडौँ । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले बिहीबार आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ । विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ ।

घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक गरिएको छ । अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने सङ्कल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे । उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए ।

घोषणापत्रमा राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी आर्थिक लक्ष्य राखिएको छ ।

जनतालाई प्रत्यक्ष राहत दिने उद्देश्यले एमालेले सरकार गठन लगत्तै सुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कामहरू घोषणापत्रमा समेटेको छ । जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई वार्षिक रूपमा १० जीबी डाटा निःशुल्क उपलब्ध गराउने, सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवालाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निब्र्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, स्वदेशमै रोजगारी सिर्जना गर्न न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्याउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार थप बोनस दिने जस्ता लोकप्रिय कार्यक्रमहरू समावेश छन् ।

विपन्न परिवारले लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र सुरक्षाकर्मीहरूको सम्मान तथा कल्याणकारी योजना ल्याउने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।

पूर्वाधार विकासतर्फ एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, आधुनिक सुरुङ मार्गहरू र ठुला सहरहरूमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

आगामी दुई वर्षभित्र सबैको घरमा स्वच्छ खानेपानी र पाँच वर्षभित्र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने दाबी एमालेले गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा एमालेले जोड दिएको छ । विदेशमा रहेका नेपालीहरूलाई ‘सद्भाव दूत’ का रूपमा लिँदै उनीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउने र

एनआरएनलाई ‘खास प्राकृतिक लगानीकर्ता’ को मान्यता दिने घोषणापत्रमा उल्लेख छ । गर्भवती महिलाको ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने र उनीहरूको स्वास्थ्य परीक्षण तथा यातायात खर्च दोब्बर गर्ने प्रतिबद्धता एमालेले जनाएको छ।

महिला उद्यमशीलता विकासका लागि २० लाख रुपैयाँसम्मको निव्र्याजी ऋण र विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने एमालेको योजना छ ।