मतदाता सस्तो लोकप्रियतामा भूल्नु हुँदैन


-विद्यादेवी भण्डारी

सर्वप्रथम, लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो ।

तसर्थ, उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य-मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो । लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरव र ऐतिहासिक उपलब्धि हो । इतिहासलाई फर्केर हेर्ने हो भने नेपालको राष्ट्रिय एकीकरणको चरणदेखि २००७ सालको क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन वा २०६२/६३ सालको जनआन्दोलन, यी सबै सफल हुनुमा नयाँ पुस्ताको अग्रणी भूमिका रहेको देखिन्छ ।

युवाहरूकै बलिदानबाट नेपाली जनताले आफूलाई राज्यसत्ताको वास्तविक स्रोतका रूपमा स्थापित गरेका हुन् । युवाको ऊर्जाशील रगतको बलमा नै देशको सार्वभौमिकता र स्वाभिमानको रक्षा तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यसले जनजीविकामा सुधार ल्याउन सक्छ ।

देशको आवश्यकतामा उपयोग हुने युवा शक्तिमा कदापि अराजकता र अधैर्यता आउनु हुँदैन । कसैप्रति द्वेष, घृणा र विध्वंशको भाव नराखी राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्दछ । सार्वभौमिकता, स्वाभिमान र जनजीविकाप्रति संयम हुन आवश्यक छ । लोकतन्त्रका मुख्य आधारस्तम्भ भनेकै युवापुस्ता हुन् । नेपालको विविधता र राजनीतिक विभाजनबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

युवापुस्तालाई विशेष रूपमा सम्बोधन गर्नु आजको आवश्यकता हो । तथापि, त्यस क्रममा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य सबै सीमान्तीकृत समुदायका मुद्दा र सरोकारलाई बिर्सनु कदापि हुँदैन । लोकतान्त्रिक समाजमा सबै वर्ग, उमेर समूह र समुदाय एकअर्कासँग जोडिएर एउटै सामाजिक संरचनाभित्र सहअस्तित्वका साथ बाँचिरहेका हुन्छन् ।

यसकारण राज्यका नीति, कार्यक्रम र राजनीतिक अभ्यासहरू समावेशी, न्यायपूर्ण र सन्तुलित हुनुपर्छ । कुनै एक वर्गको मात्र सशक्तीकरणले लोकतन्त्र बलियो हुँदैन; समाजका सबै वर्ग र समुदायको समान सहभागिता, संरक्षण र सम्मान सुनिश्चित गर्न सकेमा मात्र लोकतान्त्रिक प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ । तसर्थ, नेपालको विविधता र राजनीतिक विभाजनको अवस्थाबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य छ ।

लोकतन्त्रले नेपाली जनतालाई आफ्नो शासन आफैँ गर्ने अधिकार प्रदान गरेको छ । लोकतन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अधिकार र कर्तव्यबीचको सन्तुलन हो । अधिकारको उपभोगसँगै कर्तव्यप्रति सचेत हुँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउनु आजको आवश्यकता हो । लोकतान्त्रिक मूल्य–मान्यता व्यवहारमा उतार्न सके मात्र लोकतन्त्रको सार्थकता प्रमाणित हुन्छ ।

सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नुपर्छ । लोकतन्त्रलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य हुन्छ । नागरिक सचेत, सूचित र सक्रिय नभएसम्म लोकतन्त्रको सार्थकता स्थापित हुन सक्दैन । त्यसैले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व हुन्छ ।

जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता तथा समावेशी सहभागिताको सुनिश्चितता लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । यी मूल्य–मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य र उत्तरदायित्व अपरिहार्य छ । राजनीतिक दलहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम र सिद्धान्तको कार्यान्वयनबारे निरन्तर समीक्षा गर्दै समयानुकूल आफ्ना नीति र कार्यशैलीमा सुधार गर्दै लैजानुपर्छ ।

पार्टीभित्र स्वच्छ प्रतिस्पर्धात्मक निर्वाचनको अभ्यासका साथै आन्तरिक बैठक र छलफल गर्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकतामा राख्न जरुरी छ । साथै, आज जलवायु परिवर्तनको प्रभावका कारण हाम्रो स्वास्थ्यदेखि पृथ्वीकै स्वास्थ्यमाथि गम्भीर सङ्कट देखा पर्न थालेकाले यस्ता विषयहरूलाई पनि बहसमा ल्याउन आवश्यक हुन्छ ।

यस व्यवस्थालाई थप सुदृढ बनाउन राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र आपसी विश्वास आवश्यक छ । युवालाई रोजगारीको सुनिश्चितता, राज्यको सेवा प्रवाहलाई पारदर्शी र सुशासनयुक्त बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिएमा लोकतन्त्रप्रतिको जनविश्वास र आस्था अझ बढेर जानेछ ।

लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायको सुनिश्चितता गर्ने जीवनशैली पनि हो । हामीले लोकतन्त्रलाई केवल अधिकारको उपभोगमा सीमित नराखी कर्तव्यबोधसँग जोड्नुपर्छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवर्द्धन तथा जनमुखी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्नु आजको आवश्यकता हो । लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ ।

अन्त्यमा, लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध बनौँ । लोकतन्त्रको महत्त्वपूर्ण आधार भनेकै आवधिक निर्वाचन पनि हो । मुलुक यतिबेला विषम परिस्थितिमा आम निर्वाचनको सङ्घारमा रहेको छ । निर्धारित मितिअगावै हुन लागेकाले यसलाई एक किसिमले मध्यावधि निर्वाचन नै भन्न सकिन्छ । देशले गत भदौ २३ र २४ गते ठूलो दुर्घटना भोग्नुपर्‍यो । आगामी दिनमा यस्ता घटना कहिल्यै दोहोरिन दिनुहुँदैन ।

यतिबेला पूर्वराष्ट्रपतिको हैसियतमा मैले आम नागरिकसँगै निर्वाचनमा आफ्नो अभिमत व्यक्त गरिरहँदा क्षणिक सस्तो लोकप्रियताका कुरामा भन्दा जिम्मेवार ढङ्गबाट सोच्न आह्वान गर्न चाहन्छु । भोलि कुनै पनि खालको अनिष्ठ देशले भोग्न नपरोस् भन्ने कुरामा ख्याल राख्दै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र जनजीविकामा सुधार ल्याउन सक्ने पार्टीलाई मतदान गर्नुपर्ने अवसर हाम्रासामु आएको छ ।

(पूर्वराष्ट्रपति भण्डारीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)