हनोई । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ ।
सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो ।
रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार कम्पनीले प्रारम्भिक चरणमा चारवटा गेटवे स्टेशन स्थापना गर्न र अधिकतम छ लाख टर्मिनल उपकरण परिचालन गर्न सक्नेछ । प्राधिकरणले विद्यमान रेडियो सञ्चार सञ्जालहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न लाइसेन्स अनिवार्य गरिएको स्पष्ट पारेको छ ।
सरकारी निकायले स्टारलिङ्क प्रणालीले देशभर स्याटेलाइटमार्फत इन्टरनेट पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विशेषतः ग्रामीण र पहाडी क्षेत्रहरूमा सेवा पहुँचको अन्तर घटाउने अपेक्षा गरिएको छ, जहाँ हालसम्म विश्वसनीय इन्टरनेट सेवा सीमित रहेको छ ।
स्टारलिङ्कले हजारौँ कम–पृथ्वी कक्षीय उपग्रहहरूको प्रयोगमार्फत दुर्गम र सेवा–विहीन क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भियतनाम इन्टरनेट नेटवर्क सूचना केन्द्रका अनुसार झण्डै १० करोड जनसङ्ख्या रहेको भियतनाममा करिब ८० प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता भए पनि भौगोलिक असमानताका कारण पहुँचमा फरक देखिन्छ ।
मस्कद्वारा स्थापित मूल कम्पनी स्पेसएक्सले यसबारे एएफपीको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेको छैन । अमेरिकास्थित स्टारलिङ्कको वेबसाइटमा भियतनाममा सेवा ‘चाँडै उपलब्ध हुने’ उल्लेख गरिएको छ ।
यस विकासक्रमलाई भियतनाम–अमेरिका व्यापार सम्बन्धको पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ । गत वर्ष वासिङ्टनले भियतनामी वस्तुमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । यसै महिनामा छैटौँ चरणको वार्ता सम्पन्न भए पनि अन्तिम सहमति हुन सकेको छैन ।
स्रोतहरूका अनुसार भियतनामका शीर्ष नेता टो लाम यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा गठन गरिएको ‘शान्ति बोर्ड’ को बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने तयारीमा छन्। उक्त बोर्ड सुरुमा गाजा पट्टीको पुनर्निर्माणको निरीक्षणका लागि स्थापना गरिएको भए पनि यसको कार्यक्षेत्र विस्तार भएको देखिन्छ । पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुने तय भएको छ ।
लामले ट्रम्पसँग व्यापार वार्ताबारे छुट्टै छलफल गर्ने कि नगर्ने स्पष्ट भएको छैन र भियतनाम सरकारले भ्रमणको औपचारिक पुष्टि गरेको छैन ।
दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रका रूपमा उदाएको भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि अमेरिकी करले निर्यातमुखी वृद्धि मोडेलमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ ।
हनोईले यस वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको छ र डिजिटल पूर्वाधार विस्तारलाई त्यस लक्ष्यसँग जोडिएको महत्त्वपूर्ण रणनीतिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया