टी–२० विश्वकपको तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो


काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा इङ्ल्याण्डसँग ४ रन र दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो ।

यो जितसँगै डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज लगातार तेस्रो जितसँगै सुपर ८ मा प्रवेश गरेको छ । नेपाल भने लगातार तेस्रो हारसँगै अंकविहीन छ । नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । भारत मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

क्यारेबियन टोलीलाई सुपर ८ मा पुर्याउन सिमरोन हेट्मेयरले ४६ र साई होपले ६१ रनको योगदान गरे । ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।