स्कटल्यान्डद्वारा इटाली पराजित


काठमाडौं । टी–२० विश्वकपमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ । सोमबार भएको खेलमा जितका लागि २०८ रन पछ्याएको इटाली १६.४ ओभरमा १३४ रन बनाएर अलआउट भयो । स्कटल्यान्डका लागि माइकल लिस्कले १७ रनले चार विकेट लिए ।

इटालीका लागि बेन्च बेनेटीले बनाएको ५२ रन सर्वाधिक ठूलो स्कोर रह्यो । त्यस अगाडि इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले चार विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो । प्रतियोगिता सुरु हुन केही दिन अगाडि मात्र अन्तिम क्षणमा प्रवेश पाएको स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ५४ बलमा ८४ रन बनाए ।

उनले १३ चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर माइकल जोन्सले ३० बलमा ३७ रन जोडे । उनीहरूले पहिलो विकेटका लागि १ सय २६ रनको ठोस साझेदारी गरे ।