काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन् ।
नेकपा काठमाडौँ क्षेत्र नं ५ ले सोमबार आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए ।
‘नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्’, उनले भने ।
दाहालले नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको बताए । नेकपा दिनदिनै बलियो हुँदै गएको उनको भनाइ छ । उनले नेकपा जनताको भरोसाको केन्द्र हुँदै गएको उल्लेख गरे ।
विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताए । देशैभर नेकपामा जनलहर छाउँदै गएको उनको भनाइ थियो । नेकपाले अगाडि सारेको नीतिको पक्षमा जनतामा आशा र भरोसा थपिंदै गएको दाहालले बताए ।
नेकपा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताइन् । उनले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको उल्लेख गरिन् ।
नेकपा काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेकपा नयाँ चुनाव चिह्नका साथ अगाडि बढेको भन्दै आगामी निर्वाचनमा नेकपालाई जिताउन आग्रह गरे । कार्यक्रममा वरिष्ठ खेलाडी रेनुका श्रेष्ठसहित दर्जनौँ व्यक्ति एमाले छाडेर नेकपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया