चर्च ब्वाइजलाई हराउँदै त्रिभुवन आर्मी झापा गोल्डकपको क्वार्टरफाइनलमा


झापा । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गर्यो । पहिलो हाफमै दुई गोल गर्दै आर्मीले खेलमा स्पष्ट अग्रता बनाएको थियो ।

आर्मीका लागि पहिलो गोल दिनेश योञ्जनको पासमा नवीन लामाले गरे । त्यसपछि मध्यान्तरअगावै नवयुग श्रेष्ठले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर ‘फ्रिकिक’मार्फत जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ सहभागी छन् । यस्तै, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक झापा–११ र भारतको सिक्किमस्थित सिङलिङ स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ ।