धरान । चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानस्थित रङ्गशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।
आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताए ।
सोमबार आयोजक धरान फुटबल क्बल र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५/२५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया