बालेनको डेरा चोरी गर्ने मुख्य अभियुक्त नख्खु कारागारबाट भागेका कैदी, तीन जना पक्राउ


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहको डेरामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ चप्पल कारखानास्थित बालेनको कोठा फोडेर चोरी गर्ने समूहलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।

चोरी गर्ने मुख्य अभियुक्त मनिष राजवाहक जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी भएको प्रहरीले जनाएको छ । राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ ।

राजवाहक पेसेवर चोर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी चोरी मुद्दामा साढे ३ वर्ष कैद सजाय काटिरहेका खुलेको छ । अरु दुई जना भने उनले चोरेर ल्याएको सामान व्यवस्थापन गर्ने र लुकाउन सहयोग गर्ने रहेका प्रहरीले जनाएको छ ।