इस्लामाबादमा आत्मघाती वम विस्फोटका योजनाकार पक्राउ


इस्लामाबाद । पाकिस्तानको सेनाले शुक्रबार इस्लामाबादमा भएको घातक मस्जिद बम विस्फोटमा संलग्न चार जना ‘सहयोगी’ पक्राउ परेका जनाएको छ । सीमा–पार आक्रमणको जोखिम बढ्दै गएको भन्दै सुरक्षा निकायले कडाइ तीव्र पारेका छन् ।

अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ३२ जना नमाजीको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन् । शनिबार राजधानीमा हजारौँ शोकाकुल नागरिकहरू पीडितको अन्त्येष्टिमा सहभागी भएका थिए ।

सेनाले विज्ञप्ति जारी गर्दै त्रिलाई कलान क्षेत्रमा भएको आत्मघाती आक्रमणको अनुसन्धानमा ‘ठूलो सफलता’ हासिल भएको दाबी गरेको छ। खुफिया तथा कानुन कार्यान्वयन निकायले पेशावर र नौशेरामा छापा मारेर पक्राउ गरेको सेनाले जनाएको छ ।

सेनाका अनुसार प्राविधिक र मानवीय खुफियाको आधारमा गरिएको कारबाहीबाट आत्मघाती आक्रमणकारीका चार जना सहयोगी तथा आक्रमणको योजना बनाउने अफगान दाइश (आईएसआईएल/आईएसआईएस) का एक मुख्य योजनाकार पक्राउ परेका छन्।

सेनाले आक्रमणको योजना, तालिम र कट्टरपन्थीकरण अफगानिस्तानमै भएको आरोप लगाउँदै अफगान तालिबानको संरक्षणमा चरमपन्थी समूहहरूले क्षेत्रीय तथा विश्व शान्तिका लागि गम्भीर खतरा सिर्जना गरिरहेको बताएको छ ।

यसअघि प्रहरीले कथित आत्मघाती आक्रमणकारीको लुक्ने स्थानमा छापा मार्दा दुई दाजुभाइ र एक महिला पक्राउ परेको जानकारी दिएको थियो।

शुक्रबार इस्लामाबादको बाहिरी क्षेत्र तरलाई कलानस्थित खदिजा तुल कुब्रा शिया मस्जिदमा शक्तिशाली विस्फोट भएको थियो। उक्त आक्रमणको जिम्मेवारी दाइश सशस्त्र समूहले लिएको छ।

सन् २००८ सेप्टेम्बरमा म्यारियट होटलमा भएको आत्मघाती ट्रक बम विस्फोटपछि यो इस्लामाबादमा भएको सबैभन्दा घातक आक्रमण हो। कडा सुरक्षाका बाबजुद तीन महिनाभित्र दोस्रोपटक यस्तो घटना भएपछि राजधानीसहित प्रमुख शहरी क्षेत्रमा पुनः हिंसा बढ्ने चिन्ता बढेको छ।