नेपाल भारत सीमा नाकामा घुसपैठ हुन नदिन कडाइ गरिने


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल भारत सीमा नाका ४८ घण्टा अगावै बन्द गर्ने भएको छ ।

शुक्रबार मोरङको विराटनगरमा भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल(एसएसबी) बीचको १६औँ डिआईजी स्तरीय समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण लगायत विषयमा छलफल भएको थियो।

साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको हो।

त्यसैगरी सीमा क्षेत्रका संभावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी÷आप्रबासीहरूको गतिविधि उपर निगरानी राख्ने, विभिन्न तह बनाई चेकप्वाइन्ट खडा गर्ने, आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाईका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत बिषयहरुमा समेत छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरे भने भारतीय एसएसबीका डिआईजी सरोज कुमार ठाकुरले नेपाल भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा लगायत भारतीय एसएसबीको तर्फबाट डीआईजी सरोज कुमार थाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमारको समेत उपस्थिति रहेको थियो।