कुनै भ्रममा नपरौँ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैनः प्रवक्ता चालिसे


काठमाडौं । नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय बनेपनि नौतिकताको विषय चाहिँ नभएको बताएका हुन् । त्यस्तै उनले कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारे । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको भन्दै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’

उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे । उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।

विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको भन्दै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको उनले बताए ।