झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयको झ्यालको सिसा फुटेका छन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गएराति कार्यालयमा ढुंगा प्रहार भएको हो । उनले अन्य भौतिक क्षति भने नभएको जानकारी दिए । घटनामा संलग्नको पहिचान हुन नसकेको र पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको उनले बताए ।
प्रहरीले घटनाको थप अनुसन्धान पनि गरिरहेको छ । डीएसपी खड्काले अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए । झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा छन् । बालेन र ओली प्रतिस्पर्धामा उत्रिएपछि झापा–५ लाई चुनावी सुरक्षाका दृष्टिकोणले निक्कै संवेदनशील मानिएको छ । ।

प्रतिक्रिया