काठमाडौँ । एक्स मकाउ बक्सिङ ग्रुपले आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ ।
सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए । डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य जितेका थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन् । उनले तीन राष्ट्रका खेलाडीलाई हराएर सेमिफाइनल यात्रा तय गरेका थिए ।
चन्द्रले ३० हजार र लालबहादुर २० हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कार राशिका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन् ।
सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले सम्मान गरे ।

प्रतिक्रिया