काठमाडौँ । नेकपा एमालेले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । बुधबार पत्रकार पत्रकार सम्मेलन गरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सरकारले निर्वाचन सार्न खोजेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला अभिव्यक्ति निर्वाचन सार्ने बहानाबाट प्रेरित भएको उनको भनाई थियो । उनले भने, ‘निर्वाचन गराउनैपर्छ । अहिलेको सरकार निर्वाचन नगर्ने र सार्ने बहाना खोजिरहेको छ । तर प्रतिगमनलाई सच्याउन चुनाव हुनैपर्छ ।’
उपाध्यक्ष थापाले मौसम र हिमपातको कारण देखाउँदै प्रधानमन्त्री पन्छिने र देश जलाउने पक्षलाई स्थापित गराउने षड्यन्त्र भइरहेको आरोप लगाए ।
उनले सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई विमानस्थलबाट राजकीय सम्मानसहित स्वागत गरेको बताए ।
उनले भने, ‘दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए। उनलाई विमानस्थलदेखि नै राजकीय सम्मानसहित ल्याइएको थियो । यसले गर्दा चीनले सरकारलाई दुई वटा विकल्प दिएको छ। या त चीन विरोधीलाई नेपालबाट निकाला गर्नुपर्यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नको लागि तयार हुनुपर्यो भनेको छ।’
उनले गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोह कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको आरोप लगाए । उनले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व, नीति र निर्वाचन चिह्नबारे भ्रम फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।
उनले फरार कैदीबन्दी, अवैध हातहतियार, राजधानीमा बढ्दो लुटपाट तथा बाराको परवानीपुरमा भएको हत्याको घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाएको बताए ।
उनले यस्ता घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कडा सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया