बिगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउँछः ईश्वर पोखरेल


काठमाडौँ । नेकपा एमालेका काठमाडौँ उपत्यकाका उम्मेदवारहरुले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दाबी गरेका छन् ।

बुधबार काठमाडौँ उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दाबी गरेका हुन् ।

कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए ।

उनले बिगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउने बताए । सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रित हुने उनको भनाइ छ ।

पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने बताए ।

पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे । एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।

त्यस्तै एमाले सचिव तथा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए । उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए ।

निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले संसद पुनः स्थापनाका बिषयमा अदालतले छिटो न्यायनिरुपण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै एमाले सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद पुनःस्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए । उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।