अल्जेरियासँगको सीमानजिक लिबियाका पूर्वनेता गद्दाफीका छोराको गोली हानी हत्या


बीबीसी । लिबियाका भूतपूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानेर हत्या गरिएको छ । लिबियन न्यूज एजेन्सीका अनुसार ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले मङ्गलवार गरेका हुन् ।

उनलाई गद्दाफीका उत्तराधिकारीका रूपमा हेर्दै आइएको थियो। सैफको गृहनगर जिन्तानस्थित निवासमा “चारजना कमान्डो“को युनिटले हत्या गरेको उनका वकिलले समाचारसंस्था एएफपीलाई बताएका छन् । विवरणमा जनाइएअनुसार आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा स्पष्ट भएको छैन । घटनाक्रमको एउटा संस्करणमा सैफकी बहिनीले आफ्ना दाइको मृत्यु अल्जेरियासँगको सीमानजिक भएको लिबियन टीभीलाई बताएकी छन् ।

सैफ अल–इस्लामलाई उनका बुवा गद्दाफीपछि सबैभन्दा प्रभावशाली तथा डरलाग्दा व्यक्तिका रूपमा हेरिन्थ्यो । गद्दाफीले सन् १९६९ देखि सन् २०११ मा एउटा विद्रोहमार्फत् सत्ताच्युत हुनुअघि लिबियामा शासन गरेका थिए।

सन् २०११ मै उनी मारिए । सन् १९७२ मा जन्मिएका सैफले सन् २००० देखि गद्दाफीको पतन नभएको बेलासम्म पश्चिमा देशहरूसँग लिबियाको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आफ्ना बुवालाई सत्ताच्युत गरिएपछि प्रतिद्वन्द्वी लडाकु समूहले जिन्तानमा उनलाई करिब छ वर्षसम्म जेलमा राखेको थियो ।

सैफमाथि विद्रोहका बेला सरकारविरोधी प्रदर्शनकारीहरूमाथि दमन गर्ने भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो।