कांग्रेस एमालेप्रति रविको जहिल्यै आक्रोश, भन्छन्-आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ


काठमाडौँ । अस्वस्थ भएपछि केही समय गुमनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानमा फर्किने भएका छन् । मंगलबार सामाजिक संजालमार्फत लामिछानेले स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाले अब आफू चुनावी अभियानमा फर्किन लागेको जानकारी गराएका छन् । चुनावी अभियानमा निस्कन लागेका लामिछानेले कांग्रेस एमालेप्रति उही धम्कीको भाषा बोलेका छन् ।

यस्तो छ रविको भनाई

आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केही आरामपछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।

अपदस्त दुई तिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउँदा धाउँदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाईँको भोट । एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।

म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।

भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा–दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास–कूटनीति र अर्थ– राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।

गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ—अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।

फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन। यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।
तपाईँको, रवि लामिछाने ।