एमसीसीबारे अमेरिकी राजदूत बेरीको चासो


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे नेपाल सरकारसँग चासो राखेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार पोखरेलको कार्यकक्ष सिंहदरवारमा भेट गरी राजदुत बेरीले एमसीसीको बिषयमा गम्भीर चासो राखेका हुन् ।

भेटका क्रममा राजदूत बेरीले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राख्नुभएको मन्त्रालयले जनाएको छ ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले मन्त्री पोखरेललाई भेट गरी चासो राखेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ ? भन्दै पोखरेलसँग जिज्ञासा राखेका थिए ।

जवाफमा रक्षामन्त्री पोखरेलले एमसीसीबारे सरकारले गम्भीर छलफल अघि बढाएको भन्दै यथाशिघ्र चाँडो निष्कर्षमा पुग्ने बताएका थिए । उनीहरुबीच द्धिपक्षीय हितका बिषयमा समेत छलफल भएको थियो ।