काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन साहले काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन खोला किनारबाट हटाउन खोजेको बताएका छन् ।
मंगलबार झापाको कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेका साहले काठमाडौँका सुकुम्बासी बस्तीमा आफूले डोजर नलगाएको जिकिर गरेका हुन् । उनले नदी किनारमा बसेका सुकुम्बासीलाई वर्षामा आएको बाढीबाट जोगाउन अन्यत्र सार्न लागेको बताए ।
उनले काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलगाउने आश्वासन दिए । उनले भने, ‘काठमाडौंको खोलाछेउको सार्वजनिक जग्गा हो । त्यो खोलाकै जग्गा हो । उहाँहरूकै ज्यानको सुरक्षाका लागि हटाएका हौँ । बाढी आउँदा बस्तीभन्दा माथिसम्म आउँछ । बर्खा लाग्दा असारमा निकालेर अर्को ठाउँ लैजानुपर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो । तर, डोजरको गलत न्यारेटिभ बनाइयो ।’
साहले खोला किनारका सुकुम्बासीको लागत संकलन भूमि आयोगबाट गरेर स्थानीय तहले लालपूर्जा दिनुपर्ने बताए । उनले झापाका सुकुम्बासी बास्तवमै समस्यामा परेका बताए । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्तिले पनि समस्या भएको उनको भनाई थियो ।
उनले भने, ‘भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाहरूले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपुर्जा नभएकाले कहिले लालपुर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्यो भन्ने हो ।’
उनले सबै एजेन्डा समेटेर घोषणापत्र ल्याउने बताए । उनले भने,’फागुनको पहिलो साता पार्टीको, प्रधानमन्त्री उम्मेदवारको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ । स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारका लागि छुट्टाछुट्टै तथा स्पष्ट नीतिहरू ल्याउँछौँ ।’

प्रतिक्रिया